काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम साता नजिकिँदै गर्दा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबार मात्रै सरकारले १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ । कानुनी व्यवस्थाअनुसार आजसम्म भुक्तानीका लागि चेक काटिसक्नुपर्ने भएकाले भुक्तानी प्रणालीमा चाप बढेको छ ।
स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा देशभर समस्या देखिएको छ । विशेषगरी भुक्तानीको अन्तिम समयमा यस्तो समस्या बढी देखिने गरेको कार्यालयले जनाएको छ ।
बुधबारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । मंगलबारसम्म खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म पूँजीगत खर्च भने लक्ष्यको ४० प्रतिशत मात्रै पुगेको छ । सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेकामा हालसम्म १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यस्तै, राजस्व संकलन लक्ष्यको ७८.१५ प्रतिशत मात्र पुगेको छ । १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकामा बुधबारसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ संकलन भएको छ ।



