कृष्णभीरमा नयाँ ट्रयाक खोल्न सुरु, एक साताभित्र पृथ्वी राजमार्ग सुचारु गर्ने लक्ष्य


काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले नयाँ ट्रयाक खोल्न सुरु गरेको छ। त्रिशूली नदीको कटानका कारण पुरानो सडकको ठूलो भाग भासिएपछि पहाडको भित्तो काटेर वैकल्पिक ट्रयाक निर्माण थालिएको हो।

नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक सुझावअनुसार शुक्रबार बिहानदेखि कृष्णभीरमा मेसिन प्रयोग गरी पहाड काट्ने काम सुरु गरिएको हो। प्रारम्भिक चरणमा ७ देखि ८ मिटर चौडाइको करिब १५० मिटर लामो ट्रयाक निर्माण गर्ने तयारी छ।

नेपाल जियोटेक्निकल सोसाइटीका कार्यकारी सदस्य तथा भू–प्राविधिक इन्जिनियर राजन केसीका अनुसार प्राविधिक समस्या नआए आगामी साताभित्रै नयाँ ट्रयाक सञ्चालनमा ल्याउने लक्ष्य छ। पहिलो चरणमा साना तथा ठूला मालवाहक सवारी सञ्चालन गर्न मिल्ने गरी बाटो खोलिनेछ।

कृष्णभीरमा करिब १०० मिटर सडक पहिरो र नदी कटानका कारण भासिएको छ। सोही स्थानबाट सडक पुनःनिर्माण गर्न सम्भव नभएपछि पुरानो सडकभन्दा करिब ३० देखि ५० फिट भित्रपट्टि पहाड काटेर नयाँ मार्ग बनाउन लागिएको हो।

पहाड काट्दा थप पहिरो खस्ने जोखिम रहेकाले सडक विभाग, नेपाल जियोटेक्निकल सोसाइटी, निर्माण व्यवसायी र परामर्शदाताको संयुक्त टोली चौबीसै घण्टा फिल्डमा खटिएको छ। जोखिम बढेमा एकतर्फी यातायात सञ्चालन गर्ने तथा आवश्यक स्थानमा सिट पाइलिङ, ग्याबियन पर्खाल र अन्य संरचना निर्माण गर्ने तयारी गरिएको छ।

यसैबीच मकवानपुरको परेवाभीरमा करिब ६० देखि ७० मिटर नयाँ ट्रयाक खोलिसकिएको छ। नागढुंगा नजिकैको पातलेवनमा सडक भासिएको समस्या पनि धेरै हदसम्म समाधान भएको प्राविधिक टोलीले जनाएको छ।

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउँदा ठूला मालवाहक, इन्धन ट्यांकर तथा ग्यास बुलेट सञ्चालनमा समस्या हुँदा काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्थासमेत प्रभावित भएको छ।

दीर्घकालीन समाधानका लागि सरकारले कृष्णभीरमा सुरुङमार्ग, बाइपास सडक, सोइल नेलिङ र सिट पाइलिङलगायत विकल्पबारे अध्ययन अघि बढाएको छ। त्रिशूली पारिको ग्रामीण सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने सम्भावनासमेत अध्ययन भइरहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले भदौभित्रै पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। सोहीअनुसार सरकारले तत्कालीन रूपमा नयाँ ट्रयाक खोल्ने र दीर्घकालीन रूपमा सुरुङ वा वैकल्पिक सडक निर्माण गर्ने योजना अघि बढाएको हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार