बुद्ध एयरको नयाँ एटीआर–७२–६०० बाट व्यावसायिक उडान सुरु


काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ एटीआर–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६६ यात्रुसहित ९एन–एओएस कलसाइनको जहाजले काठमाडौं–नेपालगञ्ज पहिलो उडान गरेको हो।

गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याइएको जहाजले आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि सेवा सुरु गरेको हो। आधुनिक एभियोनिक्स, ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीयुक्त यो जहाज कम इन्धन खपत गर्ने तथा कम भिजिबिलिटीमा समेत उडान गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ जहाज थपिएसँगै बुद्ध एयरले राजमार्ग अवरुद्ध भएका कारण यात्रुको सहजताका लागि दशैं, तिहार र छठसम्म न्यूनतम भाडादर कायम गर्ने जनाएको छ। कम्पनीका अनुसार हवाई इन्धनको मूल्य उल्लेख्य बढे पनि यात्रुको मर्कालाई ध्यानमा राख्दै भाडादरमा न्यून वृद्धि गरिएको छ।

बुद्ध एयरसँग हाल १४ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० गरी १५ जहाज छन्। कम्पनीले थप एउटा एटीआर–७२–६०० भित्र्याउने तयारी गरेको छ। कम्पनीले दैनिक १४० भन्दा बढी आन्तरिक उडान गर्दै आएको छ।

यसैगरी, विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत बुद्ध एयरले विभिन्न जिल्लाबाट ७ हजार ३२२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार