आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धापूर्वक मनाइँदै


काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। हिन्दु धर्मावलम्बी तथा श्रीकृष्णका भक्तजनले व्रत बसेर श्रद्धापूर्वक यो पर्व मनाउने गरेका छन्।

जन्माष्टमीका अवसरमा भक्तजनले बिहान स्नान गरी व्रत बस्ने तथा दिनभर सात्विक आहार ग्रहण गर्ने परम्परा छ। मध्यरातमा भगवान् श्रीकृष्णको प्रतिमालाई पञ्चामृत स्नान गराई विशेष पूजा–आराधना गर्ने चलन रहेको छ।

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा देवकी र वासुदेवका पुत्रका रूपमा भगवान् श्रीकृष्णको जन्म भएको मान्यता छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ।

श्रीकृष्ण जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती तथा जन्माष्टमी लगायतका नामले पनि चिनिन्छ। यस दिन श्रीकृष्णको पूजा गरेमा सन्तान प्राप्ति, दीर्घायु, सुख, समृद्धि तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

प्रेम तथा दाम्पत्य सुखका लागि राधा–कृष्ण, सन्तान प्राप्तिका लागि बालकृष्ण र अन्य मनोकामनाका लागि बंशीवाला कृष्णको पूजा गर्ने परम्परा पनि छ। भक्तजनले फूल, गोपीचन्दन लगायतका सामग्री प्रयोग गरी भगवान् श्रीकृष्णको पूजा गर्ने गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार