काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सहसचिव र उपसचिव तहका २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको निर्णयसँगै विभिन्न जिल्लामा नयाँ सिडिओ पठाइएको छ भने केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तथा मातहतका निकायमा फिर्ता ल्याइएको छ। एकैपटक ठूलो संख्यामा भएको सरुवाले झापा, सुर्खेत, बारा, गोरखा, दोलखा, रौतहट, पर्वत, डडेलधुरा, जाजरकोट, भोजपुर, खोटाङ, सल्यान र म्याग्दीलगायत जिल्लाको प्रशासनिक नेतृत्व फेरिएको छ।
झापामा पोखरेल, सुर्खेतमा सापकोटा
गृह मन्त्रालयका सहसचिव श्रवणकुमार पोखरेललाई प्रमुख जिल्ला अधिकारीका रूपमा झापा पठाइएको छ।
यसैगरी, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखा पठाइएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
दोलखामा कँडेल, खोटाङमा गुरुङ
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
रौतहट र पर्वतमा पनि फेरिए सिडिओ
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा तिवारी
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंको महानिर्देशकका रूपमा पठाइएको छ।
सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गतबाट गृह मन्त्रालय, सिंहदरबारमै पदस्थापन गरिएको छ।
डडेलधुरामा फुयाँल, बाँकेमा वली
डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्रांकित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोट पठाइएको छ।
भोजपुर, सल्यान र म्याग्दीमा पनि नयाँ नेतृत्व
उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
गृह मन्त्रालयका उपसचिव बन्दना के.सी.लाई सल्यान पठाइएको छ।
त्यस्तै, उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
यस्तो छ सरुवा सूची


प्रतिक्रिया