अमेरिका–इरान तनाव बढ्दा तेलको मूल्य उकालो


काठमाडौं । होर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफमा अमेरिकाले इरानका ८० भन्दा बढी रणनीतिक लक्ष्यमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, कमान्ड तथा कन्ट्रोल नेटवर्क, तटीय राडार, एन्टी–सिप क्षेप्यास्त्र प्रणाली र आईआरजीसीका डुङ्गाहरूलाई निशाना बनाइएको छ।

इरानी सञ्चारमाध्यमहरूले केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह क्षेत्रमा विस्फोट भएको जनाएका छन्। इरानले अमेरिकी कदमलाई ‘खुला अतिक्रमण’ भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।

अमेरिकाले इरानी तेल निर्यातमा दिइएको छुट पनि फिर्ता लिएको छ। तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।

यसैबीच, बहराइनमा सुरक्षा साइरन बजाइएको छ भने कतारले होर्मुजमा भएको जहाज आक्रमणको निन्दा गर्दै इरानलाई जिम्मेवार ठहराएको छ। विश्लेषकहरूले अमेरिका–इरान तनावले मध्यपूर्वमा पुनः ठूलो द्वन्द्वको जोखिम बढाएको बताएका छन्।

२०८३ असार २४, बुधबार ०९:४१ प्रकाशित
ट्रेन्डिङ समाचार