काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय ७ दिनभित्र हटाउन निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थाले सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेको पाइएकाले तोकिएको अवधिभित्र कार्यालय हटाउन भनिएको हो।
साथै, सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघ–संस्थाका बोर्ड, संरचना तथा ओगटिएका स्थान खाली गराउन निर्देशन दिइएको छ। सूचनाको अवज्ञा गरी सरकारी संरचनामा कार्यालय सञ्चालन गरेको पाइए कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

२०८३ असार २, मंगलवार ०८:४८ प्रकाशित

