काठमाडौँ । पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले धरपकड गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार बसेको काउन्सिलको आकस्मिक बैठकले पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयासप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको हो।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएका यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्न सक्ने भन्दै काउन्सिलले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।




प्रतिक्रिया