काठमाडौं । बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा बढी २७ हजार ६४९ यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० यात्रु बाहिरिएका छन्।
दशैंका लागि यात्रुको चाप बढेसँगै सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको यातायात व्यवसायीले बताएका छन्। सडक बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न तथा काठमाडौं फर्किन कठिनाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताए।
महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।




प्रतिक्रिया