काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियन्त्रण कार्यालयअन्तर्गतका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने प्रक्रिया अघि बढाएको छ।
त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयलाई स्वायत्त बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन्।
प्रादेशिक कार्यालयमार्फत अनलाइन भुक्तानी, मार्कसिट तथा ट्रान्सक्रिप्ट वितरणलाई थप सहज बनाइएको उनले बताए। साथै, परीक्षा व्यवस्थापनमा संलग्न कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ।
डीन कार्यालयबाट सञ्चालन हुने सेमेस्टर प्रणालीका परीक्षालाई पनि प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी प्रभावकारी बनाइने त्रिविले जनाएको छ।
यस्तै, त्रिविले सबै तहका परीक्षाका प्रश्नपत्र अनलाइन माध्यमबाट परीक्षा केन्द्रसम्म पुर्याउने प्रणाली सञ्चालनको कामसमेत सुरु गरेको छ। :::




प्रतिक्रिया