चितवन । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्षदेखि रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण पुनः सुरु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण गरिरहेको भवनको काम सम्झौता अवधिमा ४० प्रतिशत पनि पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको थियो। म्याद थपिए पनि लामो समय काम अघि नबढेकोमा ठेकेदारले अहिले थोरै कामदार परिचालन गरी निर्माण थालेको आयोजना प्रमुख चन्द्रमणि सापकोटाले जानकारी दिए।
विमानस्थलको हालको भवनभन्दा करिब २ सय मिटर पश्चिमतर्फ निर्माण भइरहेको नयाँ टर्मिनल भवन दुई तलाको हुनेछ। ८ हजार वर्गमिटर क्षेत्रफलमा बन्ने भवनमा ८ तले कन्ट्रोल टावर, तीन लिफ्ट, एसी तथा आगलागी पूर्वसूचना प्रणालीलगायतका संरचना रहनेछन्। भवन निर्माणपछि पिक आवरमा एक हजार यात्रुलाई सेवा दिन सकिने जनाइएको छ।
भरतपुर विमानस्थलको धावनमार्ग विस्तारसँगै नयाँ टर्मिनल भवन निर्माणलाई अघि बढाइएको हो। हाल १ हजार २ सय मिटरको धावनमार्गलाई कम्तीमा १ हजार ५ सय मिटर पुर्याउने लक्ष्य छ। त्यसका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको १९ बिघा जग्गा प्रयोग गर्ने निर्णय भए पनि प्रक्रिया सुस्त छ।
वि.सं. २०१७ सालदेखि सञ्चालनमा रहेको भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले नियमित उडान गर्दै आएको छ। साँघुरो धावनमार्गका कारण ठूला जहाजको उडान–अवतरणमा समस्या हुनुका साथै रात्रिकालीन उडानसमेत हुन सकेको छैन ।




प्रतिक्रिया