काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण तथा वार्षिक दिवस बैठक आज बिहान ९ बजे बस्दैछ। शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी स्वीकृत गर्ने मुख्य कार्यसूची रहेको छ।
बैठकमा त्रिविका रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछन्। साथै विभिन्न नियम, विनियम, कार्यविधि, कार्यव्यवस्थापन प्रणाली तथा निर्देशिका अनुमोदनसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुनेछ।
त्यस्तै, त्रिवि कार्यकारी परिषद्का सदस्य मनोनयनको समर्थन तथा पुनरावेदन आयोगका अध्यक्ष र सदस्य मनोनयनसम्बन्धी प्रस्तावमा निर्णय गरिनेछ।
वार्षिक दिवस बैठकअन्तर्गत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीनको सिफारिसमा विद्यार्थीलाई उपाधि प्रदान गर्ने र ६४औँ ग्रेस लिस्ट स्वीकृत गर्ने कार्यक्रमसमेत रहेको छ। बैठकको अन्त्यमा शिक्षाध्यक्ष प्रा.डा. अन्जना महर्जन सिंहले कृतज्ञता ज्ञापन गर्नेछिन् भने सहकुलपति पोखरेलको मन्तव्यपछि सभा विसर्जन हुनेछ।




प्रतिक्रिया