काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढी विनाशकारी बाढीपछि अस्तित्व जोगाउने चुनौतीमा परेको छ। बाढीले सडक, पुल, मितेरी पुल, भन्सार संरचना तथा टिमुरे सुक्खा बन्दरगाहमा ठूलो क्षति पुर्याएको छ।
गत आव २०८२/८३ मा रसुवागढीबाट ४५ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात र ८९ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। अघिल्लो आवमा भने आयात ८५ अर्ब २३ करोड र निर्यात २ अर्ब ४ करोड रुपैयाँ थियो।
यसअघि पनि बाढीका कारण करिब ६ महिना नाका बन्द भएको थियो। पछिल्लो विपद्ले रसुवातर्फको करिब ४० किलोमिटर सडक तथा मितेरी पुलदेखि गल्छीसम्मका दर्जनौँ पुलमा क्षति पुर्याएपछि नाका सञ्चालन अनिश्चित बनेको छ।
टिमुरे सुक्खा बन्दरगाहमा मात्रै करिब ३ अर्ब रुपैयाँ लगानी भएकोमा २ अर्ब रुपैयाँ खर्च भइसकेको थियो। तर बाढीले अधिकांश संरचना बगाएपछि राज्य र निजी क्षेत्रको ठूलो लगानी जोखिममा परेको छ। भन्सारमा कार्यरत १५ कर्मचारीसमेत अझै सम्पर्कविहीन छन्।
ऐतिहासिक रूपमा नेपाल–चीन व्यापारको प्रमुख मार्ग रहेको रसुवागढीको पुनर्निर्माण र भविष्यबारे सरकारले तत्काल रणनीतिक निर्णय लिनुपर्ने अवस्था आएको छ।


