बाढी गएको ६ दिनपछि एउटै कोठामा २४ शव !: ‘यो पीडाको जवाफ कसले दिने ?’

सांसद निश्चल राईको गम्भीर प्रश्न—‘विपत्तिमा एक–एक मिनेटको मूल्य हुन्छ, उद्धारमा यति धेरै ढिलाइ किन ?’


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीको त्रासदीले अर्को हृदयविदारक रूप देखाएको छ। बाढी गएको छ दिनपछि एउटै घरको माथिल्लो तलाको एउटै कोठाबाट २४ जनाको शव फेला परेको खबरले राज्यको उद्धार तथा खोजी संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिनिधिसभा सदस्य निश्चल राईले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

राईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रसुवामा बाढी गएको ६ दिनपछि एउटै घरको माथिल्लो तलाको एउटै कोठामा २४ जनाको शव भेटिएको खबरले मन भारी भएको छ।’

उनले विपद्को समयमा उद्धारमा हुने प्रत्येक क्षणको ढिलाइले मानवीय क्षति थप भयावह बनाउन सक्ने भन्दै तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।

‘उद्धारमा यति धेरै ढिलाइ नगरौँ। विपत्तिमा एक–एक मिनेटको मूल्य हुन्छ,’ राईले भनेका छन्।

उनको प्रश्न यतिमै रोकिँदैन। रसुवाले भोगिरहेको पीडाप्रति राज्यको जवाफदेहितामाथि नै प्रश्न उठाउँदै उनले सोधेका छन्— ‘रसुवाले भोगेको यो पीडाको जवाफ हामीमध्ये कसले दिने ?’

२४ वटा शव एउटै कोठामा भेटिनु केवल एउटा परिवार वा एउटा घरको दुःखान्त होइन। यो विपद्का बेला पूर्वतयारी, तत्काल सूचना, खोज तथा उद्धारको गति, सुरक्षा संयन्त्रबीचको समन्वय र राज्यको आपत्कालीन क्षमता कति प्रभावकारी छ भन्ने प्रश्नसँग जोडिएको विषय हो।

विपद्मा हराएका नागरिकसम्म राज्यको उद्धार टोली कति छिटो पुग्न सक्छ भन्ने कुराले उनीहरूको जीवन र मृत्युबीचको दूरी निर्धारण गर्न सक्छ। त्यसैले अहिलेको प्राथमिकता आरोप–प्रत्यारोपभन्दा पनि बेपत्ताको तत्काल खोजी, सम्भावित जीवितको उद्धार, शवको पहिचान तथा पीडित परिवारलाई राज्यको भरपर्दो उपस्थिति अनुभूति गराउनु हुनुपर्ने देखिन्छ।

रसुवामा एकपछि अर्को हृदयविदारक विवरण सार्वजनिक भइरहेका बेला सांसद राईको प्रश्नले सरकारसामु एउटा गम्भीर दायित्व पनि थपेको छ— विपद्का बेला राज्य कहाँ थियो, उद्धार किन ढिलो भयो र अब बाँकी नागरिकको जीवन जोगाउन के गरिँदैछ ?

किनकि विपद् सकिएपछि गरिने समीक्षा महत्त्वपूर्ण हुन्छ, तर विपद्को बीचमा गरिएको एक मिनेटको प्रभावकारी उद्धार अझ महत्त्वपूर्ण हुन्छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार