काठमाडौँ । रसुवाका विभिन्न क्षेत्रमा नदी तथा खोलाको बहाव बढेसँगै बाढीको जोखिम बढेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।
नदी किनार तथा खोला आसपासका बस्तीमा थप जोखिम हुनसक्ने भएकाले स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान र अनावश्यक रूपमा नदी–खोला क्षेत्रमा नजान आग्रह गरिएको छ। बाढीका कारण केही स्थानमा सडक तथा यातायात प्रभावित हुनसक्ने जोखिमसमेत रहेको छ।
हालसम्म मानवीय क्षति तथा घर–भौतिक संरचनामा भएको क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा अवस्थाको निरन्तर निगरानी गरिरहेका छन्।
यसअघि रसुवामा आएको विनाशकारी बाढीबाट मितेरी पुल, सडक, भन्सार यार्ड, जलविद्युत् संरचना तथा ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको थियो। प्रशासनले नदी–खोलाको सतह बढिरहेको अवस्थामा किनारमा नजान, पुल तथा जोखिमयुक्त सडक प्रयोग नगर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।


