अब बुढानीलकण्ठमा जग्गा कित्ता मिलानपछि मात्रै नक्सापास

नापी नक्सा र मालपोत अभिलेख फरक परे कित्ता मिलान, हालसाबिक र अभिलेख अद्यावधिक अनिवार्य


काठमाडौं । काठमाडौंको पर्यटकीय एवं सुन्दर नगरी बुढानीलकण्ठ नगरपालिकाले नक्सापास प्रक्रियामा थप कडाइ गरेको छ । अब नापी नक्सा, मालपोत अभिलेख र जग्गाको स्थलगत अवस्थाबीच फरक देखिएमा आवश्यक जग्गा मिलान तथा अभिलेख अद्यावधिक नगरी नगरपालिकाले नक्सापास प्रक्रिया अघि नबढाउने भएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नक्सापासका लागि पेश हुने जग्गाको स्थलगत अवस्था, सिमाना वा क्षेत्रफल नापी नक्सा तथा मालपोत अभिलेखसँग फरक देखिएको अवस्थामा सम्बन्धित जग्गाधनीले पहिले नै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको हो ।

नगरपालिकाका अनुसार त्यस्ता जग्गाधनीले सम्बन्धित नापी तथा मालपोत कार्यालयबाट आवश्यक कित्ता मिलान, हालसाबिक तथा अभिलेख अद्यावधिक गराई प्रमाणित कागजात पेश गरेपछि मात्रै नक्सापास प्रक्रिया अगाडि बढाइनेछ ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार जग्गाको वास्तविक अवस्था र सरकारी अभिलेखबीच रहेको फरकलाई व्यवस्थित गर्दै नक्सापास प्रक्रियालाई थप व्यवस्थित र प्रमाणमा आधारित बनाउन यस्तो व्यवस्था गरिएको हो ।

नगरपालिकाले हाल प्रक्रियामा रहेका तथा अबदेखि पेश हुने सबै नक्सापाससम्बन्धी फाइलमा समेत यही व्यवस्था समान रूपमा लागू हुने जनाएको छ ।

यस व्यवस्थाले बुढानीलकण्ठ क्षेत्रमा वर्षौंदेखि नापी नक्सा, मालपोत अभिलेख र वास्तविक जग्गाको अवस्था फरक रहेका कारण उत्पन्न हुने समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, जग्गाको सिमाना तथा क्षेत्रफलमा हुने विवाद न्यूनीकरण गर्दै भवन निर्माण तथा नक्सापास प्रक्रियालाई थप व्यवस्थित बनाउनसमेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाले सम्बन्धित जग्गाधनीलाई नक्सापासका लागि आवेदन दिनुअघि आफ्नो जग्गाको नापी नक्सा, मालपोत अभिलेख र स्थलगत अवस्था यकिन गरी आवश्यक परे कित्ता मिलान तथा अभिलेख अद्यावधिक गराउन आग्रह गरेको छ ।

नगरपालिकाले यस्तो व्यवस्था लागू गरेपछि अब अभिलेख र वास्तविक जग्गाको अवस्था नमिलेको अवस्थामा सिधै नक्सापास गराउने बाटो बन्द भएको छ । जग्गाधनीले पहिले सरकारी अभिलेख मिलाउनुपर्ने र त्यसपछि मात्रै भवन निर्माणको नक्सापास प्रक्रिया अघि बढ्नेछ ।

२०८३ भाद्र ६, शनिबार १५:१६ प्रकाशित
ट्रेन्डिङ समाचार