मेचीनगर नगरपालिकाले काँकरभिट्टा र इटाभट्टा क्षेत्रमा सञ्चालनमा रहेका औषधि पसल, क्लिनिक, फार्मेसी तथा आँखा उपचार केन्द्रमा कडाइका साथ अनुगमन गरेको छ। नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा १६ वटा स्वास्थ्य तथा औषधिजन्य संस्थाको निरीक्षण गर्दा अनुमति बिना सञ्चालनमा रहेका ६ वटा ल्याब तथा क्लिनिकमा शिलबन्दी गरेको छ।
अनुगमनका क्रममा स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक इजाजतपत्र नलिई ल्याब तथा क्लिनिक सञ्चालन गरिएको पाइएपछि बरुणाभ क्लिनिकको ल्याब र क्लिनिक, काँकरभिट्टा आइकेयर सेन्टरको ल्याब, भरोसा मेडिकल हल एण्ड क्लिनिकको ल्याब तथा क्लिनिक, तेजस्वी फार्मेसीको ल्याब तथा क्लिनिक, रस्मिका फार्मेसीको ल्याब र जीवन रक्षा ल्याब मेडिकेयर प्रालिको ल्याबमा शिल गरिएको अनुगमन टोली प्रमुख दीपेन्द्र कार्कीले जानकारी दिए।
अनुगमन टोलीले काँकरभिट्टाका बरुणाभ क्लिनिक, काँकरभिट्टा आइकेयर सेन्टर, दिव्य ज्योति आइकेयर एण्ड इएनटी अस्पताल, भरोसा मेडिकल हल एण्ड क्लिनिक, देवकोटा मेडिकल हल, नव शिव दर्शन मेडिकल हल, मेची नेत्रालय एण्ड अपथाल्मिक रिसर्च सेन्टर, शान्ता मेडिकल, कृशा मेडिकल हल एण्ड क्लिनिक, रिस्ता मेडिकल हल, मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर, ओम किरण मेडिकल हल र तेजस्वी फार्मेसीमा अनुगमन गरेको थियो।
त्यस्तै, इटाभट्टाका निशा फार्मेसी एण्ड निशा क्लिनिक, रस्मिका फार्मेसी तथा जीवन रक्षा ल्याब मेडिकेयर प्रालिमा समेत अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा ओम किरण मेडिकल हल र काँकरभिट्टा आइकेयर सेन्टरबाट म्याद नाघेका औषधिसमेत बरामद गरिएको कार्कीले बताए।
उनका अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्दा आवश्यक अनुमति, औषधिको गुणस्तर तथा म्याद, ल्याब तथा क्लिनिक सञ्चालनको कानुनी मापदण्डलगायत विषयमा अनुगमन केन्द्रित गरिएको थियो।
नगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन संयोजक मीना पोखरेल उप्रेतीको संयोजकत्वमा भएको अनुगमन टोलीमा खाद्य विश्लेषक दीपेन्द्र कार्की, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, नगर अस्पतालका चिकित्सक प्रकाशचन्द्र गछदार, स्वास्थ्य अधिकृत दीपेन्द्र कार्की, फार्मेसी अधिकृत शोभा थापा, सिअहेव खगेन्द्र खतिवडा, ल्याब टेक्निसियन सूर्यबहादुर बोहोरा लगायत सहभागी थिए।
टोलीमा वडा नम्बर ६ का वडा सदस्य भोगेन्द्र सुब्बा र सीमा रसाइली, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दन दाहाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक कोपिला भुजेल, नगर प्रहरी इन्चार्ज श्याम गिरीसहित नगर प्रहरी, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो।
नगरपालिकाले स्वास्थ्य तथा औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन र मापदण्डको पालना गर्नुपर्नेमा जोड दिँदै अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।





प्रतिक्रिया