काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि विभिन्न नीतिगत तथा संरचनागत कदम अघि बढाए पनि सेयर बजारमा अपेक्षित उत्साह देखिन सकेको छैन । पर्याप्त तरलता, न्यून ब्याजदर र लगानीयोग्य रकम उपलब्ध हुँदासमेत नेप्से सूचक लामो समयदेखि साइडवेजमा सीमित छ ।
पछिल्लो करिब दुई वर्षदेखि नेप्से २ हजार ४५० देखि ३ हजारको आसपास उतारचढाव हुँदै आएको छ । बजारमा मार्जिन कारोबार सुरु हुनु, पुँजीगत लाभकर घटाइनु तथा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङको तयारी भइरहे पनि लगानीकर्ताको विश्वास बढ्न सकेको छैन ।
नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष, संस्थागत लगानीकर्ता, सामूहिक लगानी कोष र नयाँ वित्तीय उपकरणसम्बन्धी नीतिगत सुधार अघि बढाएको छ । साथै, बजारका बेन्चमार्क सूचकाङ्क पुनर्संरचना र स्टक एक्सचेन्ज सुधारका विषयमा समेत काम भइरहेको छ ।
तर, ठूला लगानीकर्तामा नीतिगत तथा नियामकीय अनिश्चितता कायम रहनु र संस्थागत लगानीकर्ताको सहभागिता न्यून हुनुले बजारमा ठूलो पुँजी परिचालन हुन नसकेको जानकारहरूको भनाइ छ ।
यसैबीच, साताको अन्तिम कारोबार दिन नेप्से सूचक ७.३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको छ । आज ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ ।
आज दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ५.१४ प्रतिशत बढेको छ भने मुक्तिनाथ म्युचुअल फन्ड–२ को मूल्य ८.५० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । बैंकको २० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।




प्रतिक्रिया