ADVERTISEMENT

निजी र सामुदायिक विद्यालयको विभाजनले शिक्षा बिग्रियो : पूर्वराष्ट्रपति यादव

काठमाडौं ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले बहुदलीय व्यवस्थापछि निजी र सामुदायिक विद्यालयबीच विभाजन गरिएकाले नेपालको शिक्षा प्रणाली कमजोर बनेको बताएका छन् ।

धनुषाको जनकपुरमा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले २००७ सालपछि विद्यालय स्थापना भए पनि नेपालको शिक्षा प्रणाली अझै सन्तोषजनक बन्न नसकेको बताए ।

उनले डिजिटल तथा एआईको युगमा समेत शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तह र विद्यालयले जिम्मेवारी लिनुपर्नेमा जोड दिए । शिक्षा सुधारका लागि पालिका र विद्यालय नै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले शिक्षकलाई प्रोत्साहित गर्न समयमै तलब तथा सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले शिक्षक प्रशिक्षण, बीमा, प्रोत्साहन, भौतिक पूर्वाधार, बालमैत्री वातावरण र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विषयगत शिक्षकको व्यवस्थापन तथा निजामती कर्मचारीसरह शिक्षकलाई तलब सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए । शिक्षा सुधारका लागि शिक्षक र अभिभावकबीच नियमित छलफल तथा मूल्यांकनका आधारमा शिक्षकलाई पुरस्कृत र सम्मान गर्नुपर्ने उनको धारणा थियो ।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार शाह, शिक्षा विभागका महानिर्देशक अणप्रसाद न्यौपाने तथा शिक्षाविद् विद्यानाथ कोइरालालगायतले शिक्षा सुधारका विषयमा धारणा राखेका थिए ।

प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमका अनुसार सम्मेलन मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरबाट करिब एक हजार जनाको सहभागिता रहेको छ ।

उनका अनुसार सम्मेलनमा ८० वटा पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ । एआईदेखि विपद् व्यवस्थापनसम्मका विषयमा विभिन्न सत्र सञ्चालन गरिनेछ ।

देशभरका २२ हजार विद्यालय आबद्ध रहेको संघको ७७ वटै जिल्लामा कार्यसमिति विस्तार भइसकेको अध्यक्ष गौतमले जानकारी दिए । सम्मेलनले सामुदायिक शिक्षा सुधारका लागि ‘जनकपुर घोषणापत्र’ समेत सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार