काठमाडौं । नौ दिनदेखि रोकिएको मन्त्रिपरिषद् बैठक आज बस्दैछ। लामो समयदेखि अवरुद्ध सचिव बढुवा प्रक्रिया अघि बढाउनेदेखि सचिवविहीन महत्वपूर्ण निकायमा नेतृत्व पठाउनेसम्मका निर्णय आजको बैठकबाट हुने तयारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ३ बजे बस्नेछ। यसअघि असार २६ गते मन्त्रिपरिषद् बैठक बसेको थियो। सामान्यतः आवश्यकताअनुसार सातामा एकदेखि दुईपटकसम्म बस्ने मन्त्रिपरिषद् बैठक यसपटक भने नौ दिनपछि मात्रै बस्न लागेको हो।
लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया अघि बढाउने विषय आजको बैठकको प्रमुख एजेन्डामध्ये एक बन्ने भएको छ। गत बिहीबार लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।
समितिले वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको हो। सिफारिस भएका तीनमध्ये एक जनालाई आजको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने सम्भावना रहेको छ।
ओ एण्ड एम सर्वेक्षण, दरबन्दी पुनरावलोकन तथा अन्य प्रशासनिक प्रक्रियाका कारण लामो समयदेखि सचिव बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन। अब एक जनाको बढुवा भएपछि अन्य रिक्त पदका लागि पनि सचिव बढुवा सिफारिस प्रक्रिया क्रमशः अघि बढ्ने बाटो खुल्नेछ।
हाल प्रशासन सेवातर्फ मात्रै आठ सचिव पद रिक्त छन्।
सञ्चारदेखि अख्तियारसम्म सचिव पठाउने तयारी
सचिव बढुवासँगै आजको बैठकले केही सचिवको सरुवा गर्ने तयारीसमेत गरेको छ। महत्वपूर्ण सरकारी निकायहरू लामो समयदेखि सचिवविहीन रहँदा नियमित प्रशासनिक काम प्रभावित भइरहेका छन्।
सूचना तथा सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखानियन्त्रक कार्यालय, निर्वाचन आयोग तथा सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतका निकायमा सचिव पद रिक्त छन्।
यीमध्ये केही निकायमा सचिव पठाउने गरी आजको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुन सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
यसका लागि विभिन्न प्रदेशमा लामो समयदेखि प्रमुख सचिवको जिम्मेवारी सम्हालिरहेका केही सचिवलाई केन्द्रमा ल्याएर महत्वपूर्ण निकायमा जिम्मेवारी दिने तयारीसमेत भइरहेको बताइएको छ। त्यसो भएमा एकैपटक केही सचिवको जिम्मेवारी हेरफेर हुनेछ।
नौ दिनदेखि थुप्रिएका प्रस्तावमा पनि निर्णय
मन्त्रिपरिषद् बैठक लामो समयसम्म नबस्दा विभिन्न मन्त्रालयबाट पठाइएका प्रस्तावसमेत निर्णयको प्रतीक्षामा छन्। आजको बैठकमा ती प्रस्तावमाथि समेत छलफल गरी निर्णय गर्ने तयारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार विभिन्न मन्त्रालयबाट आएका दर्जनभन्दा बढी प्रस्ताव आजको बैठकमा पेस हुनेछन्।
यसले गर्दा आजको बैठक सचिव बढुवा र सरुवाका लागि मात्रै नभई पछिल्लो नौ दिनदेखि थुप्रिएका विभिन्न प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि निर्णय गर्ने दृष्टिले समेत महत्वपूर्ण हुने देखिएको छ।
सचिव बढुवा प्रक्रिया अघि बढाउने, सचिवविहीन निकायमा नेतृत्व व्यवस्थापन गर्ने र लामो समयदेखि निर्णयको प्रतीक्षामा रहेका मन्त्रालयगत प्रस्ताव टुंग्याउने भएकाले आजको मन्त्रिपरिषद् बैठकलाई प्रशासनिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।


