अखाद्य खाना खुवाएर छात्राको स्वास्थ्यसँग खेलवाड गर्ने होस्टेलमा काठमाडौं प्रशासनको तालाबन्दी,३ लाख जरिवाना

कोटेश्वरको न्यू फेमली गल्र्स होस्टेलले  राति ९ छात्रा निकालेर विचल्ली बनाएको समेत खुलासा


  • छात्रा–छात्राको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गर्ने कुनै पनि होस्टेललाई प्रशासनले छुट दिँदैन। अखाद्य खाना खुवाउने, मापदण्ड पालना नगर्ने र छात्राहरुमाथि दुर्व्यवहार गर्ने प्रवृत्तिमाथि कडा निगरानी र कारबाही हुन्छ : ईश्वरराज पौडेल,प्रमुख जिल्ला अधिकारी काठमाडौं   

काठमाडौं । छात्रालाई सुरक्षित आवास र अभिभावकीय वातावरण दिनुपर्ने होस्टेलमै अखाद्य खाना खुवाउने, अनावश्यक यातना दिने र रातको समयमा छात्रालाई निकाल्नेसम्मको गम्भीर लापरबाही भेटिएपछि काठमाडौं जिल्ला प्रशासनले कोटेश्वरस्थित न्यू फेमली गल्र्स होस्टेलमाथि कडा कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मापदण्डविपरीत सञ्चालन भइरहेको उक्त होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गर्दै तत्काल सञ्चालनमा रोक लगाई तालाबन्दी गरेको हो।

होस्टेलमा छात्राहरुलाई पटक–पटक बासी, सडेको तथा किरा परेको खाना खुवाउने गरिएको अनुगमनका क्रममा पुष्टि भएको प्रशासनले जनाएको छ। लामो समयदेखि यस्तो खाना खान बाध्य छात्राहरुले सञ्चालकसँग गुनासो गर्दै सुधार गर्न आग्रह गरे पनि समस्या समाधान नभएपछि उनीहरुले सामूहिक रूपमा प्रतिकार गरेका थिए।

तर, छात्राहरुको गुनासो सम्बोधन गर्नुको साटो सञ्चालकले उल्टै रातको समयमा नौ जना छात्रालाई होस्टेलबाट निकालिदिएको पाइएको छ। रातको समयमा छात्राहरुलाई होस्टेलबाट निकालिएपछि उनीहरुको सुरक्षा र आवासको विषय गम्भीर बनेको थियो।

यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले तत्काल हस्तक्षेप गरेको हो।

‘छात्राको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अखाद्य खाना खुवाएर छात्राहरुको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएपछि होस्टेलमाथि कारबाही गरिएको बताए।“छात्रा–छात्राको स्वास्थ्य र सुरक्षामाथि खेलवाड गर्ने कुनै पनि होस्टेललाई प्रशासनले छुट दिँदैन। अखाद्य खाना खुवाउने, मापदण्ड पालना नगर्ने र छात्राहरुमाथि दुर्व्यवहार गर्ने प्रवृत्तिमाथि कडा निगरानी र कारबाही हुन्छ।”प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले  चेतावनी दिदै भने ।

उनले काठमाडौंका अन्य क्षेत्रमा समेत यस्ता घटना हुन नदिन होस्टेलहरुको अनुगमनलाई प्रभावकारी बनाइने बताए।

“कुनै पनि होस्टेलले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र सम्मानमा खेलवाड गरेको पाइए तत्काल कारबाही हुन्छ,” पौडेलले चेतावनी दिए।

संयुक्त अनुगमनमा खानामै भेटियो किरा

होस्टेलविरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका र होस्टेल व्यवसायी संघ समेतको संयुक्त टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा होस्टेलमा पकाइएको खानामा किरा भेटिनुका साथै अत्यधिक अखाद्य खाना तयार गरी विद्यार्थीलाई खुवाउने गरिएको पाइएको प्रशासनले जनाएको छ।

विद्यार्थीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षाको विषयमा गम्भीर लापरबाही देखिएपछि प्रशासनले तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो।

खानामात्र होइन, होस्टेल सञ्चालनमै गम्भीर कैफियत

अनुगमनका क्रममा न्यू फेमली गल्र्स होस्टेलमा खाद्य गुणस्तरको समस्या मात्र नभई सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित अन्य गम्भीर कैफियतसमेत भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता खिमराज भुसालका अनुसार होस्टेलमा छात्राहरुलाई अनावश्यक यातना दिने, आवश्यक वार्डेन नराख्ने, सम्बन्धित वडामा दर्ता नगरी सञ्चालन गर्ने तथा रातको समयमा छात्राहरुलाई होस्टेलबाट निकाल्ने जस्ता गम्भीर समस्या देखिएका थिए।

यस्ता कैफियत भेटिएपछि प्रशासनले उक्त होस्टेलको सञ्चालनमा समेत रोक लगाएको हो।

अभिभावकले विश्वास गरेर पठाएका छात्राको सुरक्षामा खेलवाड

अभिभावकले आफ्ना छोराछोरी सुरक्षित हुने विश्वासमा होस्टेलमा पठाउने गर्छन्। तर, विद्यार्थीको स्वास्थ्य, सुरक्षा र सम्मानको जिम्मेवारी लिएको संस्थाले नै अखाद्य खाना खुवाउनेदेखि रातको समयमा छात्रालाई निकाल्नेसम्मका गतिविधि गरेको भेटिएपछि होस्टेल सञ्चालनको नियमनमाथि समेत प्रश्न उठेको छ।

न्यू फेमली गल्र्स होस्टेलमाथिको कारबाहीले विद्यार्थी आवासका नाममा न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन भइरहेका अन्य होस्टेललाई समेत प्रशासनको स्पष्ट सन्देश दिएको छ।

विद्यार्थीको स्वास्थ्य र सुरक्षासँग सम्झौता गर्ने होस्टेलमाथि अब प्रशासन कठोर बन्ने संकेतसमेत यस घटनाले दिएको छ।

२०८३ भाद्र २, मंगलवार १९:३९ प्रकाशित
ट्रेन्डिङ समाचार