काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ।
चारदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। भेटमा नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ आइतबार काठमाडौंआएका थिए । । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका थिए ।
सोमबार राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
भ्रमणकै क्रममा सोमबार प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणलाई दुई देशका सेनाबीच लामो समयदेखि कायम रहेको सैन्य सहकार्य र उच्चस्तरीय सम्बन्धलाई निरन्तरता दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


