काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गतेदेखि नियमित प्रक्रियाअनुसार डिलरमार्फत ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको हो।
निगमले ग्यास आवश्यक भएका उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।
ग्यासको बिक्री–वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमले पाँचबुँदे व्यवस्था सार्वजनिक गरेको छ।
दैनिक बिक्रीको विवरण निगममा बुझाउनुपर्ने
निगमका अनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्रीका लागि उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार गरी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगहरूले उक्त विवरण सोही दिन निगममा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
अत्यावश्यक घरायसी उपभोक्तालाई प्राथमिकता
निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक अवस्थामा रहेका तथा घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ।
ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
संयुक्त टोलीबाट अनुगमन
ग्यास वितरणमा अनियमितता हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीबाट वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि काठमाडौंमा ग्यासको आपूर्ति सहज बनाउन निगमले शनिबार र आइतबार गरी १६ हजार ३ सय सिलिन्डर ग्यास बिक्री गरेको जनाएको छ।
ग्यास नपाए निगमको क्यूआरटीमा सम्पर्क गर्न आग्रह
नजिकको आधिकारिक बिक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्।
निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गर्दै आवश्यक परेमा ती नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।


