काठमाडौं । लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया अन्ततः अघि बढेको छ। सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवत एक नम्बरमा रहेका भट्टराइलाई सचिवमा बढुवा गर्नेछ ।
भट्टराई फेरि पहिलो नम्बरमा
पहिलो नम्बरमा सिफारिस भएका कमलप्रसाद भट्टराई हाल बागमती प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत छन्।
भट्टराईका लागि सचिव बढुवाको सिफारिस नयाँ भने होइन। उनी यसअघि पनि पटक–पटक सिफारिसमा परिसकेका छन्। गत मंसिरमा भएको सिफारिसमा समेत भट्टराई र इन्दु घिमिरे दुवैको नाम परेको थियो। उक्त सिफारिसबाट सरकारले राजेन्द्र पौडेललाई सचिवमा बढुवा गरेको थियो।
त्यसपछि गत फागुनमा भएको सचिव बढुवा सिफारिसमा पनि भट्टराई पहिलो नम्बरमा परेका थिए। तर सचिव पद रिक्त रहे पनि मन्त्रालय तथा उच्च तहका दरबन्दी घटाउने, संरचना पुनरावलोकन गर्ने र मन्त्रालय गाभ्ने विषय अघि बढेपछि बढुवा प्रक्रिया नै अनिश्चित बनेको थियो।
यसपटक पुनः पहिलो नम्बरमा सिफारिस भएसँगै भट्टराई सचिव बन्ने करिब करिब निश्चित रहेको बताइएको छ ।
एक दिनमै सिफारिससम्म पुग्यो प्रक्रिया
लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया बुधबारदेखि पुनः अघि बढेको थियो।
बुधबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सम्भावित उम्मेदवारहरूको सेवा विवरण तथा आवश्यक कागजात माग गर्ने निर्णय गरेको थियो।
समितिले सम्भावित उम्मेदवारहरूको सेवा अवधि, कार्यसम्पादन, विभागीय कारबाही भए–नभएकोलगायत आवश्यक विवरण परीक्षण गरेपछि बिहीबार तीन जनाको नाम सिफारिस गरेको हो।
यससँगै लामो समयदेखि रोकिएको सचिव बढुवाको प्रक्रिया सिफारिसको चरण पार गर्दै अब मन्त्रिपरिषद्को निर्णयमा पुगेको छ।
दरबन्दी पुनरावलोकनले रोकिएको थियो बढुवा
पछिल्लो समय सरकारले मन्त्रालयको संख्या घटाउने, मन्त्रालयहरू गाभ्ने तथा सचिवसहित उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने तयारी अघि बढाएपछि सचिव बढुवा प्रक्रिया अन्योलमा परेको थियो।
रिक्त सचिव पदमा समेत तत्काल बढुवा नगरी संरचना पुनरावलोकनको टुंगो कुरिएको थियो। तर अब तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएसँगै प्रक्रिया फेरि औपचारिक निर्णयतर्फ अघि बढेको छ।


