काठमाडौं । पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार म्याद थपको अनुमति दिएको हो।
श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै नेपाल बार अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बहस गरेका थिए।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारसम्बन्धी विभिन्न संघसंस्थाले प्रदर्शनसमेत गरिरहेका छन्।
२०८३ श्रावण २८, बिहीबार १९:१८ प्रकाशित


