काठमाडौं । गृह मन्त्रालयजस्तो संवेदनशील र निरन्तर उच्च प्रशासनिक सक्रियता आवश्यक पर्ने निकायमा पाँच जना सहसचिव लामो समयदेखि जिम्मेवारीविहीन अवस्थामा थन्किएका छन् । नीतिनिर्माणदेखि प्रशासनिक समन्वय र सुरक्षा व्यवस्थापनसम्म महत्वपूर्ण भूमिका खेल्नुपर्ने सहसचिवहरूलाई जिम्मेवारी नदिई जगेडामा राखिएको विषयले गृह प्रशासनको नेतृत्वमाथि नै प्रश्न उठाएको छ ।
मन्त्रालयले मंगलबार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरे पनि गृहमा जिम्मेवारीविहीन रहेका पाँच सहसचिवलाई भने कुनै जिम्मेवारी दिएको छैन ।
मन्त्रालयले बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई संखुवासभाको प्रजिअमा सरुवा गरेको छ । त्यस्तै, मिना अर्याललाई बैतडीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
दुई जिल्लाका प्रजिअको सरुवा र पदस्थापन गरेको गृह नेतृत्वले आफ्नै मन्त्रालयमा रहेका अनुभवी सहसचिवहरूलाई भने जिम्मेवारीविहीन राखेको हो ।
को–को छन् जिम्मेवारीविहीन ?
जिम्मेवारी नपाएर गृहमा हाजिर गर्दै घर फर्किने अवस्थामा पुगेका सहसचिवमध्ये बासुदेव घिमिरे, श्रवणकुमार पोखरेल, चिरञ्जीवी पौडेल, पुष्पराज शाही र भूपेन्द्र थापा रहेका छन् ।
केही दिनअघि सुनसरीको कप्तानगञ्ज घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी घिमिरेलाई गृह मन्त्रालयमा तानिएको थियो । त्यसयता उनी मन्त्रालयमै जिम्मेवारीविहीन छन् ।
त्यस्तै, राष्ट्रिय किताबखानाको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएर आएका पोखरेल पनि जिम्मेवारीविहीन अवस्थामा छन् । उपराष्ट्रपति कार्यालयबाट गृहमा सरुवा भएर आएका पौडेलले पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् ।
पुष्पराज शाही र भूपेन्द्र थापा भने यसअघि नै लामो समयदेखि जिम्मेवारीविहीन अवस्थामा रहेका सहसचिव हुन् ।
‘हाजिर गर्यो, फर्कियो’मै सीमित उच्च अधिकारी
सहसचिवजस्तो उच्च तहका कर्मचारीलाई जिम्मेवारीविहीन राख्दा उनीहरूको प्रशासनिक क्षमता र अनुभवको उपयोग हुन नसकेको मात्र होइन, राज्यको स्रोतसमेत अनावश्यक रूपमा खर्च भइरहेको छ ।
जिम्मेवारी नपाएका सहसचिवहरूको दिनचर्या अहिले मन्त्रालय जाने, हाजिर गर्ने र घर फर्किनेमा सीमित बनेको छ ।
गृह मन्त्रालय आफैंमा मुलुकको आन्तरिक सुरक्षा, जिल्ला प्रशासन, विपद् व्यवस्थापन, नागरिकता तथा राष्ट्रिय परिचयपत्रदेखि विभिन्न संवेदनशील प्रशासनिक विषयको समन्वय गर्ने निकाय हो । यस्तो मन्त्रालयमा आवश्यकताअनुसार जिम्मेवारी बाँडफाँट गर्नुपर्नेमा उच्च तहका अधिकारीलाई लामो समयसम्म ‘जगेडा’ राखिनुले प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठाएको हो ।
सरुवा बढ्दै, जिम्मेवारीको टुंगो छैन
गृहमा सहसचिवहरूको सरुवा र पदस्थापन भइरहे पनि जिम्मेवारीविहीन सहसचिवहरूको संख्या भने घट्न सकेको छैन । एउटा निकायबाट अर्को निकायमा अधिकारी तान्ने तर नयाँ जिम्मेवारी नदिने प्रवृत्तिले ‘सरुवा व्यवस्थापन कि प्रशासनिक उपयोग?’ भन्ने प्रश्नसमेत उठेको छ ।
उच्च प्रशासनिक तहका अधिकारीलाई जिम्मेवारीविहीन राख्ने प्रवृत्तिले कर्मचारीको मनोबलमा समेत असर पार्न सक्ने प्रशासनविद्हरू बताउँछन् ।
गृह प्रशासनमा अहिले चुनौती र जिम्मेवारीको चाप उच्च रहेकै अवस्थामा अनुभवी पाँच सहसचिवलाई उपयोगविहीन अवस्थामा राखिनु आफैंमा गम्भीर प्रशासनिक विरोधाभास बनेको छ ।


