नाइमा एक्स्पोले बढायो मोबिलिटी बजारको उत्साह, नीतिगत अस्थिरताले भने चिन्ता

नीति–नियममा पटक–पटकको परिवर्तनले व्यवसायमा अन्योल : नाइमा अध्यक्ष वैद्य


काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पोले नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा नयाँ प्रविधि, ब्रान्ड र मोडलको उत्साह थपेको छ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन्। आयोजकका अनुसार एक्स्पो अवधिमा करिब ४० नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ।

दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धनलाई केन्द्रमा राखिएको एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनदेखि कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि, सेवा र यससँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनमा राखिएका छन्।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालमा विकसित हुँदै गएको मोबिलिटी क्षेत्रको सम्भावना र नयाँ प्रविधिको विस्तारलाई एकै ठाउँबाट बुझ्ने अवसर प्रदान गरेको बताइन्।

उनका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमा परिवारमा अहिले ३६ कम्पनी आबद्ध भइसकेका छन्। यसले नेपालमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा निजी क्षेत्रको चासो र सम्भावना बढ्दै गएको देखाउने उनको भनाइ छ।

‘मोबिलिटीलाई राजस्वको स्रोतमा मात्रै सीमित नगरौँ’

अध्यक्ष वैद्यले मोबिलिटीलाई केवल विलासिताको वस्तु वा सरकारको राजस्व संकलन गर्ने माध्यमका रूपमा हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिइन्।

उनले मोबिलिटीलाई नागरिकको पहुँच, कनेक्टिभिटी, रोजगारी तथा अवसर विस्तारसँगै राष्ट्रिय विकासको अत्यावश्यक पूर्वाधारका रूपमा लिनुपर्ने बताइन्।

“मोबिलिटी केवल सवारीसाधनको विषय होइन, यो नागरिकको पहुँच, अवसर र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो,” उनको भनाइ थियो।

नीतिगत अस्थिरताले व्यवसायमा अन्योल

एक्स्पोको उत्साहसँगै अध्यक्ष वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले भोगिरहेको नीतिगत अस्थिरताप्रति भने गम्भीर चिन्ता व्यक्त गरिन्।

सरकारले नीति तथा नियममा पटक–पटक परिवर्तन गर्दा निजी क्षेत्र अन्योलमा पर्ने भन्दै उनले कुनै पनि नयाँ नीति ल्याउनुअघि सम्बन्धित व्यवसायी तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको बताइन्।

उनका अनुसार स्थिर, पारदर्शी र पूर्वानुमानयोग्य नीति भए मात्रै निजी क्षेत्रले दीर्घकालीन लगानी योजना बनाउन सक्छ। पटक–पटक हुने नीतिगत परिवर्तनले लगानीको वातावरण कमजोर बनाउनुका साथै व्यवसायी र उपभोक्ता दुवैलाई असर पार्ने उनको भनाइ छ।

नाइमा एक्स्पोले भने विद्युतीय तथा हाइब्रिड सवारीसाधनसहित नयाँ पुस्ताका मोबिलिटी प्रविधिप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई एकै छानामुनि प्रस्तुत गरेको छ। भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा नयाँ ब्रान्ड, नयाँ मोडल र प्रविधि अवलोकन गर्न सर्वसाधारण तथा अटोमोबाइलप्रेमीको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।

२०८३ श्रावण २७, बुधबार १५:०५ प्रकाशित
ट्रेन्डिङ समाचार