काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ।
गल्फुटारस्थित खड्का निवासमा भएको भेटमा आगामी शुक्रबार काठमाडौंको सुकेधारामा हुने राष्ट्रिय भेलाबारे छलफल भएको हो। इतर समूहले कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ।
भेटमा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको थियो। खड्काले उक्त आग्रहप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
पछिल्लो समय खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि उनको भूमिकाबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो।
२०८३ श्रावण २७, बुधबार १२:४४ प्रकाशित

