काठमाडौं । वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए स्थगित २४औँ सत्याग्रहसहित सशक्त आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ।
कास्कीबाट जारी प्रेस विज्ञप्तिमा डा. केसीले सरकार र निजी मेडिकल कलेजबीचको साँठगाँठका कारण सार्वजनिक चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रणाली कमजोर बनाइएको आरोप लगाउनुभएको छ। उहाँले निजी मेडिकल कलेजमा इन्टर्न तथा आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने चेतावनीप्रति सरकार मौन बसेको भन्दै आपत्ति जनाउनुभएको छ।
डा. केसीले स्वास्थ्य मन्त्रीसहित चिकित्सा शिक्षा क्षेत्रका केही पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका रिक्त निर्देशक पदमा निजी क्षेत्रसँग असम्बद्ध योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने र छात्रवृत्ति सिट कटौतीको निर्णय फिर्ता लिनुपर्ने माग गर्नुभएको छ।
त्यस्तै, निजी मेडिकल कलेजमा थपिएका सिट बदर गरी सरकारी संस्थाको क्षमताअनुसार सिट वृद्धि गर्नुपर्ने, निजी संस्थामा सञ्चालित स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रम सरकारी शिक्षण संस्थामा मात्र सञ्चालन गर्नुपर्ने उहाँको माग छ। निजी शिक्षण संस्थामा भइरहेको भनिएको श्रम शोषण तथा वित्तीय अनियमितताको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।
माग र विगतका सहमति तत्काल कार्यान्वयन नभए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिँदै डा. केसीले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने बताउनुभएको छ।

