काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा विभिन्न विधेयक पेस तथा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नेछन्। राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम छ।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैबीच, संसद्का विभिन्न सात विषयगत समितिको बैठक पनि आज बस्दैछ। अर्थ समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कामकारबाही र वित्तीय सङ्घीयता कार्यान्वयनबारे छलफल हुनेछ। कानुन, न्याय तथा मानव अधिकार समितिले थुनुवा तथा कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी प्रतिवेदनमाथि छलफल गर्नेछ।
महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका बैठकमा पनि विभिन्न समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

