दुई सचिवको एकैपटक राजीनामा, अतिरिक्तमा थन्क्याएपछि असन्तुष्ट थिए बाबुराम

लामो समयको अनुभव भएका उच्चपदस्थ कर्मचारीलाई प्रभावकारी जिम्मेवारी नदिने प्रवृत्तिप्रति कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै


 सञ्चार सचिव पोखरेलको अझै एक वर्ष कार्यकाल बाँकी

काठमाडौँ । सरकारले दुई सचिवलाई जिम्मेवारीविहीन बनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखेको केही समयमै दुई सचिवले राजीनामा दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवका रूपमा रहेका बाबुराम अधिकारी र सञ्चार  मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएको बताइएको छ।

प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक बागमती प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। जिम्मेवारी खोसेर अतिरिक्तमा राखिएको भन्दै उनी त्यसप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ।

अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए  अवकाशको करिब एक महिना मात्र बाँकी रहेका बेला उनलाई प्रदेशको प्रमुख सचिवबाट हटाएर केन्द्रमा अतिरिक्तमा ल्याइएको थियो।

सचिवलाई जिम्मेवारीविहीन बनाएर अतिरिक्तमा राख्ने सरकारको निर्णयप्रति प्रशासनिक वृत्तमा समेत प्रश्न उठिरहेका बेला अधिकारीले राजीनामा दिएका हुन्।

त्यस्तै, सञ्चार सचिव डा. कमलप्रसाद पोखरेलले पनि राजीनामा दिएका छन्। पोखरेलको सचिवका रूपमा अझै करिब एक वर्ष कार्यकाल बाँकी थियो।

पोखरेललाई केही दिनअघि मात्रै राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवका रूपमा सरुवा गरिएको थियो। मन्त्रालयमा जिम्मेवारी सम्हालेको छोटो समयमै उनले राजीनामा दिएका हुन्।

एकैपटक दुई सचिवको राजीनामाले पछिल्लो समय निजामती प्रशासनमा देखिएको असन्तुष्टि, जिम्मेवारी हेरफेर र वरिष्ठ प्रशासनिक अधिकारीको व्यवस्थापनको विषयलाई पुनः बहसमा ल्याएको छ।

विशेषगरी अवकाशको मुखमा रहेका सचिवलाई जिम्मेवारीविहीन बनाउने, सचिवहरूको सरुवा तथा पदस्थापनमा प्रशासनिक स्थायित्वभन्दा अन्य कारण हाबी हुने र लामो समयको अनुभव भएका उच्चपदस्थ कर्मचारीलाई प्रभावकारी जिम्मेवारी नदिने प्रवृत्तिप्रति कर्मचारी वृत्तमा असन्तुष्टि बढ्दै गएको बताइन्छ।

 

२०८३ श्रावण २६, मंगलवार २२:०० प्रकाशित
ट्रेन्डिङ समाचार