काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।
मन्त्रालयका अनुसार तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकामा भूमि बैंक स्थापना हुनेछ।
भूमि बैंकमार्फत बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले प्रतिफल पाउने व्यवस्था हुनेछ।
भूमिहीन, सुकुम्बासी, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै कृषि प्रयोजनका लागि जग्गा उपलब्ध गराउन सहजीकरण गरिने मन्त्रालयले जनाएको छ।
भूमि बैंकको माध्यमबाट बाँझो जमिनलाई उत्पादनमा जोड्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य राखिएको छ।

