काठमाडौं । कमन जेनजी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित आन्दोलन घोषणा गरेका हुन्।
साहले सरकार दमनकारी र जनविरोधी भएको आरोप लगाउँदै जेनजी आन्दोलनका मूल माग सम्बोधन गर्न असफल भएको दाबी गरेका छन्। घाइते तथा सहिद परिवारको उचित सम्बोधन नभएको, किसानका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको तथा मूल्यवृद्धि र मल अभावजस्ता जनजीविकाका सवालमा सरकार उदासीन बनेको उनको आरोप छ।
उनले बालेन सरकारविरुद्ध सडक आन्दोलनबाटै दबाब सिर्जना गर्ने चेतावनी दिँदै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिलाई भदौ २३ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
आन्दोलनको स्वरूप र कार्यक्रमबारे थप विवरण आगामी दिनमा सार्वजनिक गरिने संगठनले जनाएको छ।

