सरकारका ५ निर्णय सार्वजनिक, सुनसरी–सिराहाका ४ जनालाई सहिद घोषणा


काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ।

सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई सहिद घोषणा गरेको हो।

त्यस्तै, नेपालमा पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय भएको छ।

२०८३ श्रावण २६, मंगलवार १८:२६ प्रकाशित
ट्रेन्डिङ समाचार