काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले देशमा सुरक्षा, न्याय, सुशासन र रोजगारीको अवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले नागरिकसँगै जनप्रतिनिधिसमेत सुरक्षित नरहेको बताए। धार्मिक तथा साम्प्रदायिक विवाद, आगजनी र धम्कीका घटनामा संलग्नलाई राजनीतिक आस्था नहेरी कारबाही गर्न उनले सरकारसँग माग गरे।
प्रधानमन्त्री लामो समयदेखि संसद्मा उपस्थित नभएको भन्दै उनले सरकारको जवाफदेहितामाथि समेत प्रश्न उठाए। जनताका समस्या बुझ्न मन्त्रीहरू एसीको कोठाबाट बाहिर निस्केर खेत, कारखाना, सडक र आन्दोलनरत नागरिकबीच पुग्नुपर्ने उनको भनाइ थियो।
सुकुमवासी तथा भूमिहीनलाई धनीपुर्जा दिने विषयमा सरकारले आलटाल गर्न नहुने भन्दै राईले संघीय सरकारले समन्वय गरेर तत्काल परिणाम दिनुपर्ने बताए। वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न र देशमै रोजगारीका अवसर सिर्जना गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
खेलकुद क्षेत्रको उपेक्षाप्रति असन्तुष्टि जनाउँदै राईले विदेशमा घाइते तथा अलपत्र पर्ने नेपाली खेलाडीको उपचार र उद्धारमा राज्यले जिम्मेवारी लिनुपर्ने बताए।
राईले प्रधानमन्त्रीलाई नैतिक तथा पदीय जिम्मेवारी लिन, संसद्सँग संवाद गर्न र जनतामाझ जान आग्रह गर्दै भने, ‘देशलाई अहिले भाषण र आश्वासन होइन, सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ।’

