काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको परम्परागत तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन भारत निरन्तर सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र समान लाभका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
दुवै पक्षबीच विकास निर्माण, आर्थिक सहकार्य तथा दुई देशबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बनेपछि भारतीय राजदूतसँग पहिलो एकल भेट
प्रधानमन्त्री शाहले विदेशी कूटनीतिक प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गरेको यो पहिलोपटक हो। यसअघि गत चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
भारतीय राजदूतसँगको यो भेटलाई प्रधानमन्त्री शाहको सरकार गठनपछि नेपालका छिमेकी मुलुकसँगको सम्बन्ध र उच्चस्तरीय कूटनीतिक संवादलाई अघि बढाउने क्रममा महत्वपूर्ण भेटका रूपमा हेरिएको छ।

