काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री नियुक्त भएपछि विदेशी कूटनीतिज्ञसँग सामूहिक भेटलाई प्राथमिकता दिँदै आएका शाहले पहिलोपटक छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ। दुवै भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
भारतीय राजदूत श्रीवास्तवसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय राजदूतसँगको भेटलगत्तै प्रधानमन्त्री शाहले चिनियाँ राजदूतसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहले पछिल्लो समय विदेशी कूटनीतिज्ञसँगको संवादको शैलीमा समेत परिवर्तन गर्न थालेका छन्। यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि उनले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
गत चैत २५ गते भएको उक्त सामूहिक भेटमा नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
त्यतिबेला प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएको बताइएको थियो। तर पछिल्लो समय उनले एक्लाएक्लै कूटनीतिक संवादलाई पनि अघि बढाउन थालेका छन्।
यसको संकेत असार २३ गते नै देखिएको थियो। त्यस दिन प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारमा छुट्टै भेटवार्ता गरेका थिए।
अब भने प्रधानमन्त्री शाहले एकै दिन नेपालका दुई प्रमुख छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै संवाद गर्न लागेका हुन्। त्यसको भोलिपल्ट अर्थात् मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि प्रधानमन्त्रीको भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
भारत, चीन र अमेरिकासँग लगातार उच्चस्तरीय कूटनीतिक संवादको यो क्रमलाई प्रधानमन्त्री शाहको बदलिँदो कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ। यद्यपि, आजका भेटवार्तामा कुन–कुन विषयमा छलफल हुने भन्नेबारे सरकारले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
छिमेकी भारत र चीनसँगको सम्बन्ध, आर्थिक तथा विकास साझेदारी, क्षेत्रीय चासो र नेपालका प्राथमिकताका विषयमा प्रधानमन्त्री शाहले राजदूतहरूसँग धारणा आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।

