कांग्रेस एकताको सङ्कल्प गर्दै बाडेगाउँ पुगे खड्का


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको आन्तरिक एकताको सङ्कल्प गर्दै ललितपुरको बाडेगाउँस्थित पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को आश्रम पुगेका छन्।

आइतबार बिहान नेता–कार्यकर्तासहित आश्रम पुगेका खड्काले किशुनजीको शालिकमा माल्यार्पण गर्दै कांग्रेसलाई एकढिक्का बनाउन आध्यात्मिक तथा नैतिक ऊर्जा प्राप्त गर्न आफू बाडेगाउँ आएको बताए। उनले पार्टीलाई बलियो बनाउन आन्तरिक एकता अनिवार्य रहेको भन्दै आश्रमबाटै एकताको प्रण गरेको बताए।

खड्कासँगै निवर्तमान केन्द्रीय सदस्यहरू अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, विद्या तिमिल्सिना र कान्तिका सेजवाललगायत नेता–कार्यकर्ता बाडेगाउँ पुगेका थिए। कर्णाली प्रदेश सभापति ललितजंग शाही, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलसहित विभिन्न तहका नेताहरू पनि सहभागी थिए।

पार्टीभित्र ध्रुवीकरण बढिरहेका बेला संस्थापनइतर समूहका दर्जनौँ नेता–कार्यकर्तालाई समेत साथमा लिएर खड्का बाडेगाउँ पुगेका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाडेगाउँस्थित आश्रममा आगजनी भएको थियो।

२०८३ श्रावण २४, आईतवार १२:०२ प्रकाशित
ट्रेन्डिङ समाचार