इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह–चतरा भित्री सडकखण्डमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा गाँजा बरामद गरेको हो।
बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान–१३ का ३४ वर्षीय थमन राई, ओखलढुङ्गाको मानेभन्ज्याङ–५ का २२ वर्षीय जीवनी राई, मोरङको कटहरी–३ का २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।
उनीहरूलाई गाँजा तथा दुवै सवारीसाधनसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

