काठमाडौं । बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई समाचार लेखेकै कारण धम्की दिएको आरोप लागेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र युरोप शाखाले घटनाको कडा भर्त्सना गरेका छन्।
महासंघले प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। पत्रकार गजुरेलले राजदूतावासको कर्मचारी भर्ना सूचनामा भएको कथित अनियमितताबारे समाचार प्रकाशित गरेपछि प्रतिक्रिया लिन सम्पर्क गर्दा धम्कीपूर्ण अभिव्यक्ति आएको आरोप लगाएका छन्।
महासंघले विदेशमा कार्यरत नेपाली पत्रकारको सुरक्षा र भयरहित पत्रकारिताको वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

२०८३ श्रावण २१, बिहीबार १८:५२ प्रकाशित

