विमानस्थलको सेटिङ इकोसिस्टम भत्काउन अध्यागमन विभागको कडा एक्सन

मनपरी अफलोड गर्ने अध्यागमन अधिकृतबाटै यात्रुको टिकट रकम असुल्ने व्यवस्था लागू,भिसा, आगमन–प्रस्थान र पदयात्रा अनुमति प्रक्रिया पूर्ण रूपमा स्वचालित प्रणालीमा आधारित


सागर पण्डित ,काठमाडौं ।

लामो समयदेखि सेटिङ, अनियमितता, मानव तस्करी, भिसा दुरुपयोग र विभिन्न प्रकारका कालो धन्दाका कारण विवादमा पर्दै आएको नेपालको एकमात्र  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्थागत रूपमा जरा गाडेको ‘सेटिङ इकोसिस्टम’ नियन्त्रणतर्फ उन्मुख भएको छ।

अध्यागमन विभागले विमानस्थलमा हुने अनियमितता, गैरकानुनी गतिविधि र मिलेमतोका अभ्यासलाई नियन्त्रण गर्न कडा सुधार अभियान सञ्चालन गरेपछि विमानस्थलको कार्यशैलीमा उल्लेख्य परिवर्तन देखिन थालेको दाबी गरेको छ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार वर्षौंदेखि विभिन्न तहमा फैलिएको सेटिङ संस्कृतिलाई नियन्त्रणमा लिन विभागले नेतृत्वदायी भूमिका खेलेको छ।

“विमानस्थलमा यति धेरै संस्थागत सेटिङ रहेछ कि सुरुमा त्यसलाई भत्काउन अहोरात्र खट्नुपर्‍यो। धेरै पक्षसँग जुध्नुपर्‍यो। अहिले भने त्यस्ता अधिकांश सेटिङ नियन्त्रणमा ल्याउन सफल भएका छौं,” महानिर्देशक तिवारीले प्रशासनपोस्टसँग भने।

विगतमा पर्यटक भिसाको दुरुपयोग, अवैध आवागमन, मानव तस्करी, अपराधी र तस्करसँगको मिलेमतो तथा कर्मचारीकै संलग्नतामा हुने विभिन्न गतिविधि बारम्बार सार्वजनिक हुने गरेका थिए। तर पछिल्ला केही महिनायता यस्ता प्रकृतिका विवादित घटना उल्लेख्य रूपमा सार्वजनिक नभएको तथ्यले पनि विमानस्थलमा धेरै नै सुधार भइसकेको अर्थको रुपमा बुझ्न थालिएको छ ।

अफलोडदेखि भिसासम्म नयाँ थिति

सुधार अभियानअन्तर्गत विभागले पर्यटक भिसामा नेपाली नागरिकको आवागमन व्यवस्थापन गर्न स्पष्ट मापदण्ड लागू गरेको छ। यसले भिसाको नाममा हुने अनधिकृत चलखेल र सेटिङलाई नियन्त्रण गर्न मद्दत पुगेको विभागको दाबी छ।

यस्तै, मनासिब कारणबिना यात्रुलाई अफलोड गर्ने अध्यागमन अधिकृतलाई जिम्मेवार बनाउँदै सम्बन्धित यात्रुको हवाई टिकटको रकम नै तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

एयरलाइन्स कम्पनीलाई समेत उत्तरदायी बनाउने उद्देश्यले अब अफलोड गरिएका यात्रुलाई अनिवार्य रूपमा लिखित अफलोड पत्र दिनुपर्ने व्यवस्था लागू गरिएको छ। एकै व्यक्तिलाई दोहोरो बोर्डिङ पास जारी गर्ने कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा लेखी पठाउने अभ्यास समेत सुरु गरिएको छ।

विदेश जाने नेपालीमाथि हुने ओभरबुकिङ, टिकट रिभोक गरी अस्वाभाविक शुल्क असुल्ने लगायतका ठगीका अभ्यासलाई समेत कडाइका साथ नियन्त्रण गरिएको विभागले जनाएको छ।

१५३ कर्मचारी कारबाहीमा, १२० भन्दा बढी व्यक्ति अनुसन्धानको दायरामा

गत आर्थिक वर्षमा मात्रै सुधार अभियानका क्रममा नक्कली कागजात तथा शंकास्पद यात्रामा संलग्न ५८ जना नेपाली नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरो, ५० जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा १२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागि सिफारिस गरिएको विभागले जनाएको छ।

त्यसै अवधिमा विभागले १५३ कर्मचारीमाथि विभागीय कारबाही समेत गरेको छ।

महानिर्देशक तिवारीका अनुसार विमानस्थलमा अध्यागमन मात्र नभई ट्राभल एजेन्सी, वायुसेवा कम्पनी, भूमिस्थ सेवा प्रदायक र अन्य निकायको समेत भूमिका रहने भएकाले सबै सरोकारवालासँग समन्वय गरी सुधारका लागि सचेतना र निगरानी बढाइएको छ।

प्रविधिमै आधारित हुँदै सेवा

विभागले सेवा प्रवाहलाई पारदर्शी र छरितो बनाउन प्राविधिक सुधारलाई समेत प्राथमिकतामा राखेको छ।

भिसा, पदयात्रा अनुमति, आगमन र प्रस्थान लगायतका सेवा पूर्ण रूपमा स्वचालित सूचना प्रणालीमा आधारित बनाइएको छ भने ‘नेपाली पोर्ट’ प्रणालीलाई थप सुदृढ गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको नियरलाइन डाटा सेन्टरलाई फायरवाल अपग्रेड, हाई एभेलेबिलिटी प्रणाली, लिंक स्विच अपग्रेड लगायतका सुविधासहित मोडुलर डाटा सेन्टरका रूपमा विकास गरिएको विभागले जनाएको छ।

वर्षौंदेखि सेटिङ र अनियमितताको पर्याय बनेको विमानस्थलमा थालिएको यो सुधार अभियान दीर्घकालीन रूपमा संस्थागत हुन सकेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छवि मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

२०८३ श्रावण २१, बिहीबार १७:०३ प्रकाशित
ट्रेन्डिङ समाचार