काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव मुक्तिराम अर्याललाई दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका अर्याललाई काठमाडौं महानगरपालिकामा सरुवा गर्दै नयाँ जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। ५८ वर्षे सेवाहदका कारण सरोजकुमार गुरागाई अवकाश भएपछि रिक्त रहेको महानगरमा अर्याललाई ल्याइएको हो ।
सरकारले यससँगै तीन जना सहसचिवको सरुवा गरेको छ। निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सहसचिव महेश्वरचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्वमा परिवर्तन भएको छ। प्रमुख प्रशासकीय अधिकृतका रूपमा अर्यालले अब महानगरको समग्र प्रशासन, कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाहलाई नेतृत्व गर्नेछन्।

