लोकसेवा परीक्षामा ऐतिहासिक सुधार : अब एकै आर्थिक वर्षभित्र विज्ञापनदेखि सिफारिससम्म

डेढ वर्षसम्म लम्बिने पदपूर्ति प्रक्रिया अब १०–१२ महिनामै टुंगिने, 'प्रोसेस रिइञ्जिनियरिङ' सहितको स्मार्ट परीक्षा


सागर पण्डित, काठमाडौं ।

सरकारी जागिरको तयारी गरिरहेका लाखौं युवादेखि निजामती कर्मचारीसम्मका लागि राहत दिने गरी लोकसेवा आयोगले आफ्नो पदपूर्ति प्रणालीमै इतिहासकै ठूलो सुधारको तयारी गरेको छ। अब आयोगले प्रत्येक आर्थिक वर्षभित्रै विज्ञापनदेखि लिखित परीक्षा, अन्तर्वार्ता र अन्तिम सिफारिससम्मका सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने गरी कार्यतालिका कार्यान्वयनमा ल्याउने भएको हो।

यसअघि एउटै विज्ञापनको पदपूर्ति प्रक्रिया पूरा हुन डेढ वर्षभन्दा बढी समय लाग्ने गरेको थियो। त्यसका कारण सरकारी कार्यालयमा ठूलो संख्यामा दरबन्दी रिक्त रहने, सेवा प्रवाह प्रभावित हुने, कर्मचारी व्यवस्थापन अस्तव्यस्त बन्ने तथा परीक्षार्थीले लामो समय तयारीमै बिताउनुपर्ने अवस्था थियो। अब भने आयोगले ‘प्रोसेस रिइञ्जिनियरिङ’ लागू गर्दै यो प्रणालीलाई पूर्ण रूपमा पुनर्संरचना गर्न लागेको हो।

लोकसेवा आयोगका सदस्य वीरबहादुर राई ले प्रशासनपोस्टसँग कुरा गर्दै आयोगले साउन १ गते नै वार्षिक कार्यतालिका स्वीकृत गरी लागू गरिसकेको जानकारी दिए।

उनका अनुसार अब सरकारले पद माग गरेलगत्तै आयोगले प्रक्रिया अघि बढाउनेछ र भदौदेखि सुरु हुने सम्पूर्ण पदपूर्ति प्रक्रिया सोही आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।‘‘अब आयोगले विज्ञापनदेखि अन्तिम सिफारिससम्मका सबै काम एउटै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तयारी गरेको छ। यसबाट राज्यले समयमै जनशक्ति पाउनेछ र सेवा प्रवाहमा देखिएको ढिलाइ पनि हट्नेछ,” सदस्य राईले प्रशासनपोस्टसँग भने।

यो व्यवस्थालाई आयोगले परीक्षा प्रणालीको संरचनात्मक सुधार (प्रोसेस रिइञ्जिनियरिङ) को रूपमा अघि सारेको हो।

किन आवश्यक थियो यस्तो सुधार ?

विगतमा परीक्षा प्रक्रिया लामो समयसम्म लम्बिँदा मन्त्रालय, विभाग , केन्द्रिय  सरकारी कार्यालय,प्रदेश   र स्थानीय तहमा हजारौं पद रिक्त रहने गरेका थिए। आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित हुने, निर्णय प्रक्रिया ढिलो हुने र विकास निर्माणका कामसमेत असर पर्ने अवस्था थियो।

अर्कोतर्फ सरकारी सेवामै कार्यरत अधिकृत तथा उपसचिवहरू माथिल्लो तहको परीक्षाको तयारीका लागि लामो समय केन्द्रित हुँदा नियमित कार्यालय सञ्चालनसमेत प्रभावित हुने गरेको थियो। विशेष गरी स्थानीय तहहरूले आयोगसमक्ष समयमै पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको  गुनासो पटक–पटक राख्दै आएका थिए।

लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्मा का अनुसार यिनै समस्यालाई समाधान गर्ने उद्देश्यले आयोगले स्मार्ट परीक्षा व्यवस्थापन प्रणाली लागू गर्दै नयाँ कार्यतालिका बनाएको हो।

अब कसरी चल्ने छ  परीक्षा तालिका ?

नयाँ कार्यतालिकाअनुसार अब विभिन्न तहका विज्ञापन र सिफारिस निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ।

  • सहसचिव : भदौमा विज्ञापन, फागुनभित्र सिफारिस
  • उपसचिव : असोजमा विज्ञापन, चैतभित्र सिफारिस
  • शाखा अधिकृत स्तर : जेठभित्र सिफारिस
  • सुब्बा र खरिदार स्तर : असारभित्र सिफारिस

यसैगरी, एउटै श्रेणीका प्राविधिक र अप्राविधिक सबै पदको विज्ञापन एउटै मितिमा प्रकाशित गरिने व्यवस्था गरिएको छ। आयोगले सबै लिखित परीक्षा वर्षायाम सुरु हुनुअघि नै सम्पन्न गर्ने लक्ष्यसमेत लिएको छ।

आयोगकै इतिहासमा नयाँ फड्को

आयोगका सदस्य राईका अनुसार एकै आर्थिक वर्षभित्र सम्पूर्ण पदपूर्ति प्रक्रिया सम्पन्न गर्ने व्यवस्था आयोगकै इतिहासमा महत्वपूर्ण संस्थागत सुधार हो।

यसबाट रिक्त दरबन्दी लामो समयसम्म खाली नरहने, समयमै कर्मचारी व्यवस्थापन हुने, सेवा प्रवाह प्रभावकारी बन्ने र परीक्षार्थीले पनि निश्चित कार्यतालिकाअनुसार तयारी गर्न सक्ने वातावरण सिर्जना हुने आयोगको विश्वास छ।

 

२०८३ श्रावण २०, बुधबार १८:२६ प्रकाशित
ट्रेन्डिङ समाचार