काठमाडौं । महिलातर्फ खुला प्रतिस्पर्धाबाट सहसचिव बनेको साढे दुई महिनामै आरती न्यौपानेले पहिलोपटक विभागीय प्रमुखको जिम्मेवारी पाउने भएकी छन्। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलको गृहमन्त्रालयमा सरुवा भएपछि न्यौपाने स्वतः राष्ट्रिय किताबखानाको महानिर्देशक बन्ने भएकी हुन्। ३१ वर्षमा नै सहसचि बनेर उनले सबैभन्दा कान्छी सहसचिवको रेकर्ड राखेकी थिइन् ।
भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजुलले हालका महानिर्देशक श्रवणकुमार पोखरेलको सरुवा भइसकेकाले अब राष्ट्रिय किताबखानाको नेतृत्व सहसचिव आरती न्यौपानेले सम्हाल्ने जानकारी दिए।
ओ एन्ड एम (संगठन तथा व्यवस्थापन) सर्वेक्षणपछि राष्ट्रिय किताबखानाको जिम्मेवारी र दायरा उल्लेखनीय रूपमा विस्तार भएको छ। यसअघि निजामती कर्मचारीको अभिलेख व्यवस्थापनमा सीमित रहेको यो निकाय अब निजामती कर्मचारीसँगै शिक्षक र नेपाल प्रहरीका कर्मचारीको अभिलेख संरक्षण गर्ने केन्द्रीय निकायका रूपमा रूपान्तरण भएको छ।
यससँगै राष्ट्रिय किताबखाना लाखौं कर्मचारीको व्यक्तिगत सेवा विवरण, अभिलेख, सम्पत्ति विवरण तथा कर्मचारी सूचना व्यवस्थापन गर्ने सबैभन्दा महत्वपूर्ण सरकारी अभिलेख केन्द्रका रूपमा स्थापित भएको छ।
संरचनागत पुनर्संरचनापछि किताबखानाको दरबन्दी १०६ पुर्याइएको छ। यसअघि महानिर्देशक र उपमहानिर्देशक गरी सहसचिवका दुई दरबन्दी रहेकोमा उपमहानिर्देशकको पद कटौती गरी महानिर्देशकको एकमात्र सहसचिव पद कायम गरिएको छ।
न्यौपाने यसअघि उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्। तर ओ एन्ड एमपछि उक्त पद नै खारेज भएको थियो। त्यसपछि महानिर्देशक पोखरेलको सरुवा भएसँगै उनी स्वतः विभागीय प्रमुखको जिम्मेवारीमा पुग्न लागेकी हुन्।
महानिर्देशकका रूपमा न्यौपानेले अब १०६ कर्मचारीको नेतृत्व गर्नुका साथै लाखौं निजामती कर्मचारी, शिक्षक र प्रहरीको अभिलेख व्यवस्थापन, कर्मचारी सम्पत्ति विवरणको संरक्षण तथा कर्मचारी सूचना प्रणाली सञ्चालनको जिम्मेवारी सम्हाल्नेछिन्।
न्यौपाने महिलातर्फ खुला प्रतिस्पर्धाबाट सहसचिव पदमा बढुवा भएकी अधिकारी हुन्। बढुवाको छोटो अवधिमै महत्वपूर्ण विभागीय नेतृत्वमा पुग्न सफल भएकी उनी अहिले संघीय निजामती प्रशासनको महत्वपूर्ण अभिलेख प्रणालीको नेतृत्व सम्हाल्ने महिला प्रशासकका रूपमा समेत स्थापित भएकी छन्।

