काठमाडौं । सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई उहाँले अध्ययन गरेको भोजपुरस्थित विद्योदय माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको संस्था विद्योदय एलुम्नाई समाज, काठमाडौंले विशेष सम्मान गरेको छ।
विद्यालयबाट अध्ययन प्रारम्भ गरी मुलुकको निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवसम्म पुग्न सफल भई विद्यालय र समग्र जिल्लाकै प्रतिष्ठा उच्चो राखेको भन्दै एलुम्नाई समाजले कार्कीप्रति गर्व व्यक्त गर्दै सम्मान अर्पण गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै सहभागीहरूले सामान्य विद्यालयबाट अध्ययन गरेका विद्यार्थी पनि मेहनत, क्षमता र इमानदारीका आधारमा राज्यको उच्चतम प्रशासनिक नेतृत्वसम्म पुग्न सक्ने प्रेरणादायी उदाहरण कार्की बनेको उल्लेख गरे। उनीहरूले नवनियुक्त मुख्य सचिव कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै उनले मुलुकको प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा भोजपुरबाट काठमाडौं आएर विभिन्न क्षेत्र—प्रशासन, शिक्षा, व्यवसाय, सामाजिक सेवा तथा अन्य पेशामा उल्लेखनीय सफलता हासिल गरेका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले मुख्य सचिव कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको सफलताले आफुहरुलाई पनि गर्व महसुस भएको बताएका थिए ।
विद्योदय एलुम्नाई समाजका अध्यक्ष प्रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ बनाउने, विद्यालयको विकासमा सहयोग पुर्याउने तथा सफल व्यक्तित्वहरूको अनुभव नयाँ पुस्तासम्म पुर्याउने विषयमा समेत छलफल भएको थियो।

