काठमाडौं । थाइल्यान्डबाट नेपालमा ११ किलोग्राम गाँजा तस्करी गर्न खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको पञ्जाबस्थित लुधियाना घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आउँदा झोलाभित्र लुकाएर ११ किलो गाँजा ल्याएका थिए।
उनीहरूबाट ११ किलो गाँजा, तीन थान राहदानी र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

