मनसुन अझै सक्रिय : आज पनि पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा वर्षासँगै हिमपात हुनसक्ने


काठमाडौं। देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा जारी रहने भएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास तथा पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। यसकै प्रभावका कारण सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि मौसममा खासै सुधार नआउने देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहनेछ। त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभाग, मधेश प्रदेश तथा विभिन्न तराई क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।

यस्तो वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

२०८३ श्रावण १७, आईतवार ०८:११ प्रकाशित
ट्रेन्डिङ समाचार