काठमाडौं। सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा सुरु भएर एक सातादेखि तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव अन्ततः शान्तितर्फ उन्मुख भएको छ। सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, स्थानीय समुदाय तथा पीडित पक्षबीच भएको निरन्तर संवाद र सहमतिपछि पछिल्ला दिनमा आन्दोलन मथ्थर बन्दै गएको छ।
विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै दोषीमाथि कानुनअनुसार कारबाही, पीडितलाई न्याय र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि तथा गृहमन्त्री सुदन गुरुङ स्वयं घटनास्थल पुगेर मृतक परिवार र आन्दोलनरत पक्षसँग निरन्तर वार्ता गरेपछि समाधानको वातावरण बनेको सरकारी अधिकारीहरूको भनाइ छ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमै बसेर मृतकका परिवार, स्थानीय अगुवा, आन्दोलनरत समूह तथा सरोकारवालासँग पटक–पटक छलफल गरेका थिए। वार्तापछि पीडित परिवारसँग लिखित सहमति भएको र राहत, न्याय तथा शहीद घोषणासम्बन्धी प्रक्रिया अघि बढाउने सहमति बनेपछि आन्दोलन थप उग्र हुनबाट रोकिएको बताइएको छ।
साउन ९ गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते जयप्रकाश गुप्ताको उपचारका क्रममा निधन भएको थियो। त्यसपछि आन्दोलन विस्तार हुँदै जाँदा साउन १४ गते सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि तनाव थप चर्किएको थियो।
यी घटनापछि सरकारको प्रारम्भिक प्रतिक्रिया ढिलो भएको भन्दै आलोचना पनि भएको थियो। तर त्यसपछि प्रधानमन्त्रीले केन्द्रबाट राजनीतिक समन्वयलाई तीव्र बनाउँदै सबै पक्षसँग संवाद अघि बढाउन निर्देशन दिएका थिए। राष्ट्रपतिसँग भेट, देशवासीका नाममा सम्बोधन तथा वार्तामार्फत समाधान खोज्ने सरकारी प्रयास त्यसपछि तीव्र बनेको देखियो।
यसबीच विभिन्न राजनीतिक दलले पनि आ–आफ्नो तहबाट संवाद र सहमतिको वातावरण बनाउन भूमिका खेले। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल आयोजना गर्दै राजनीतिक दल, सामाजिक अगुवा तथा धार्मिक नेतृत्वबीच संवादको वातावरण बनाउन पहल गरेका थिए। उनले तराईका विभिन्न पक्षसँग भेटघाट गरी संयम अपनाउन र हिंसा रोक्न आग्रह गरेका थिए। संसदमा रहेका अन्य सबै प्रतिपक्षी दलहरुले बढ्दो संकट समाधान गर्न आ आफ्नो तर्फबाट सक्दो पहल गरे ।
यसैबीच नागरिक समाज, स्थानीय अगुवा, धार्मिक नेतृत्व, सञ्चारमाध्यम तथा सर्वसाधारणले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै हिंसा रोक्न दबाब सिर्जना गरेका थिए। त्यसको सकारात्मक प्रभाव वार्ता प्रक्रियामा परेको देखिएको छ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमै बसेर “समाधान नभएसम्म काठमाडौं नफर्कने” प्रतिबद्धतासहित लगातार वार्ता चलाएका थिए। अन्ततः मृतक परिवारसँग सहमति जुटेपछि आन्दोलनका कार्यक्रम क्रमशः स्थगित हुन थालेका छन्।
शनिबारदेखि सुनसरी, सिराहा लगायत प्रभावित जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षा सतर्कता भने यथावत् राखिएको छ।
तराई–मधेशलाई थप हिंसातर्फ धकेल्न सक्ने जोखिम अन्ततः संवाद, राजनीतिक इच्छाशक्ति र सबै पक्षको सामूहिक प्रयासबाट नियन्त्रणतर्फ गएको विश्लेषण गरिएको छ। यद्यपि दीर्घकालीन शान्तिका लागि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय र समुदायबीचको विश्वास पुनःस्थापना अबको सबैभन्दा महत्वपूर्ण चुनौती रहने सरोकारवालाहरूको भनाइ छ।

