जनकपुरधाममा शान्तिको अपिलसँगै दोषीमाथि कारबाहीको माग


जनकपुरधाम । धनुषा, सुनसरी र सिरहामा भएका घटनामा संलग्न दोषीलाई तत्काल कारबाहीको माग गर्दै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

सद्भाव र्‍याली समापनपछि भेला भएका युवाहरूले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले सामाजिक शान्ति र साम्प्रदायिक सद्भाव कायम राख्न प्रशासनलाई गम्भीर बन्न आग्रह गरेका छन्।

यसअघि जनकपुरधाममा तनावपूर्ण अवस्था सामान्य बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा सद्भाव र्‍याली निकालिएको थियो। र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा स्थानीयको सहभागिता रहेको थियो।

सहभागीहरूले ‘सामाजिक एकता कायम गरौँ’ र ‘शान्ति तथा सद्भाव कायम गरौँ’ भन्ने नारासहित नगर परिक्रमा गरेका थिए। वक्ताहरूले जनकपुरधामको पहिचान सामाजिक सद्भाव र एकतासँग जोडिएको भन्दै यसलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

२०८३ श्रावण १६, शनिबार १६:२६ प्रकाशित
ट्रेन्डिङ समाचार