विचौलियामुक्त बन्दै कम्पनी रजिष्ट्रार कार्यालय, ३ लाख ७८ हजार कम्पनीको अनुगमन चूनौतीपूर्ण

सबै सेवा अनलाइन प्रणालीमा, सेवाग्राहीलाई आफ्नै हातले कम्पनी दर्ता गर्न आग्रह , १३ हजार ९३७ कम्पनी खारेज


  • ३ लाख ७८ हजार ३ सय ६८ कम्पनी दर्ता, नियमित अनुगमन गर्न जनशक्ति अभाव
  • रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठको नेतृत्वमा कम्पनी रजिष्ट्रार कार्यालय विचौलियामुक्त अभियानमा
  • सबै सेवा पूर्ण रूपमा अनलाइन, अब घरबाटै कम्पनी दर्ता र विवरण संशोधन सम्भव
  • ‘आफ्नो काम आफैं’ अभियान : सेवाग्राहीलाई बाहिरी व्यक्तिको भर नपर्न कार्यालयको आग्रह
  • विवादित, उजुरी परेका तथा जोखिमयुक्त कम्पनीलाई प्राथमिकतामा राखेर अनुगमन
  • एक वर्षमै कम्पनी दर्ता २० हजार ६४४ बाट बढेर २७ हजार १६० पुग्यो, औपचारिक व्यवसाय दर्तामा आकर्षण बढ्दो

काठमाडौं । एक समय विचौलियाको प्रभाव, सेटिङ संस्कृति र अव्यवस्थाका कारण आलोचित बनेको कम्पनी रजिष्ट्रार कार्यालय अहिले भने उल्लेखनीय सुधारको चरणमा पुगेको छ। कार्यालयले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ‘विचौलियामुक्त कार्यालय’ बनाउने अभियानलाई तीव्रता दिएको छ। तर, अर्कोतर्फ हालसम्म दर्ता भएका ३ लाख ७८ हजार ३ सय ६८ कम्पनीको प्रभावकारी अनुगमन भने जनशक्ति र स्रोत–साधन अभावका कारण ठूलो  चूनौती  बनेको छ।

सहसचिव कृष्णकुमारी श्रेष्ठले रजिष्ट्रारको जिम्मेवारी सम्हालेपछि कार्यालयभित्रको सेवा प्रणालीमा उल्लेखनीय सुधार आएको कर्मचारीहरू बताउँछन्। विगतमा विचौलियाको सेटिङमा सेवा सञ्चालन हुने, सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने र अतिरिक्त रकम असुल्ने प्रवृत्ति अहिले क्रमशः अन्त्यतर्फ गएको उनीहरूको भनाइ छ।

रजिष्ट्रार श्रेष्ठका अनुसार कार्यालयबाट प्रदान गरिने सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालन गरिएको छ। यसले सेवाग्राहीलाई घरमै बसेर कम्पनी दर्ता, विवरण अद्यावधिक, संशोधन लगायतका अधिकांश सेवा लिन सहज भएको छ।

“अब सेवाग्राहीले आफ्नो काम आफैं गर्न सक्छन्। कुनै पनि बाहिरी व्यक्तिको भर पर्नुपर्ने अवस्था छैन,”रजिष्ट्रार श्रेष्ठले प्रशासनपोस्टसँग भनिन्।

उनका अनुसार सम्बन्धित व्यक्तिले आफैं अनलाइन फाराम भरेपछि आवश्यक कागजात अपुग भए कार्यालयका कर्मचारीले नै सम्पर्क गरी प्रणालीमार्फत कागजात थप्न आग्रह गर्ने व्यवस्था मिलाइएको छ। देशको जुनसुकै स्थानबाट पनि सहज रूपमा कम्पनी दर्ता गर्न सकिने गरी प्रणाली विकास गरिएको  श्रेष्ठले बताइन्।

यद्यपि केही सेवाग्राही अझै पनि आफ्नो  काम आफैं गर्नुभन्दा अन्य व्यक्तिलाई जिम्मा दिने प्रवृत्तिमा रहेकाले अनावश्यक रूपमा अतिरिक्त रकम तिर्न बाध्य भइरहेको श्रेष्ठको भनाइ छ।

हामी सबै सेवाग्राहीलाई आफ्नो काम आफैं गर्न र कसैको भर नपर्न निरन्तर सचेत गराइरहेका छौं,” उनले भनिन्।

३ लाख ७८ हजार ३ सय ६८ कम्पनी, अनुगमन गर्न जनशक्ति अपुग

कार्यालयका अनुसार हालसम्म ३ लाख ७८ हजार ३ सय ६८ कम्पनी दर्ता भएका छन्। कम्पनी दर्ता मात्र होइन, कम्पनी ऐनअनुसार ती कम्पनीले कानुनी दायित्व पूरा गरे–नगरेको अनुगमन, छानबिन र नियमन गर्नु पनि कार्यालयकै प्रमुख जिम्मेवारी हो।

तर सीमित जनशक्ति र स्रोतका कारण सबै कम्पनीको नियमित अनुगमन सम्भव हुन सकेको छैन।

रजिष्ट्रार श्रेष्ठका अनुसार हाल विवादमा परेका, उजुरी परेका तथा आवश्यकता देखिएका कम्पनीलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको छ।उनका अनुसार कम्पनीका विवादहरुलाई पनि उच्च प्राथमिकतामा राखेर निरुपण गर्ने गरिएको छ ।

१३ हजारभन्दा बढी कम्पनी खारेज

कार्यालयका अनुसार विभिन्न कानुनी तथा प्रशासनिक कारणले हालसम्म १३ हजार ९ सय ३७ कम्पनी खारेज भइसकेका छन्।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनी खारेजी, जरिवाना, अभिलेख अद्यावधिक, नाम परिवर्तन, शेयर पूँजी वृद्धि, कम्पनी गाभ्ने, नियमावली संशोधन, विवरण पेश नगर्ने कम्पनीमाथि कारबाही लगायतका काम पनि कार्यालयले गर्दै आएको छ।

दर्ता गर्ने कम्पनीको संख्या तीव्र रूपमा बढ्दै

पछिल्ला वर्षमा कम्पनी दर्ता गर्ने क्रम उल्लेखनीय रूपमा बढेको कार्यालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा २० हजार ६ सय ४४ कम्पनी दर्ता भएकोमा २०८२/८३ मा यो संख्या बढेर २७ हजार १ सय ६० पुगेको छ। यसले मुलुकमा औपचारिक व्यवसाय दर्ताप्रति आकर्षण बढ्दै गएको संकेत गरेको छ।

२०८३ श्रावण १६, शनिबार १३:२९ प्रकाशित
ट्रेन्डिङ समाचार